सत्ता पाए आन्दोलन रोकिन्छ : माओवादी नेता

एकीकृत माओवादीका स्थायी कमिटी सदस्य नेत्रविक्रम चन्दले राष्ट्रिय सरकारको नेतृत्व माओवादीलाई गर्न दिए जारी आन्दोलन रोकिने जानकारी दिएका छन्। माओवादीले सत्ताको नेतृत्व गर्न पाए राष्ट्रपतिको कदम पनि सच्चिने र नागरिक सर्वोच्चता पनि पुनर्बहाली हुने उनले बताए। आइतबार नेपालगन्जमा पत्रकारहरूसँग कुरा गर्दै माओवादी नेता चन्दले भने- 'सबभन्दा ठूलो पार्टीको हिसाबले सत्ता, सरकार र संविधानमा माओवादीले नेतृत्व गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो। राष्ट्रिय सरकारमा माओवादीको नेतृत्व नभएसम्म आन्दोलन जारी रहने बताउँदै चन्दले भने- माओवादीले सत्ताको नेतृत्व गर्न पाउनु नागरिक सर्वोच्चता हो। सरकारको नेतृत्व माओवादीले नगर्दासम्म जनताले चाहेको संविधान बन्न नसक्ने दाबी पनि चन्दले गरे। संविधान बनाउनलाई किन सरकारको जरुरी पर्यो भन्ने संवाददाताको प्रश्नमा चन्दले जनताले माओवादीलाई संविधान बनाउनका लागि मात्र भोट नदिएको बताए। उनले भने- 'सबैखाले परिवर्तनका लागि भोट पाएको माओवादीले सरकारको नेतृत्व गर्न पाउनै पर्छ।' माओवादीले राम्रो काम गर्न थालेपछि षडयन्त्रपूर्वक सत्ताबाट हटाइएको दाबी पनि उनले गरे।

0 comments:

Post a Comment